नवराज चौलागाई
निजगढ । नेपाल खेलकुद क्लब रौतहट निजगढ मेयर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तर्गत बुधबार भएको पहिलो सेमिफाइनल खेलमा निजगढलाई टाईब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै नेपाल खेलकुद फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछी खेल टाईब्रेकरमा गएको थियो । खेलको ३० औं मिनेटमा निजगढको कमजोर डिफेन्स लाईनको मौका उठाउदै मानबहादुर तामाङको गोलसँगै रौतहटले अग्रता लिएको थियो । पहिलो हाफमा अग्रता लिएको रौतहट दोश्रो हाफमा दबाबमा देखिएको थियो ।
रौतहटमाथी निरन्तर गोलको लागि प्रयास गरेको निजगढ ४९ औं मिनेटमा बराबरी गर्न सफल भयो । निजगढका लागि अमिर श्रेष्ठले गोल गर्दै खेललाई बराबरीमा ल्याए । दुवै टिमले थप गोल गर्ने थुप्रै अवशर सदुपयोग गर्न नसक्दा खेल टाईब्रेकरमा गएको थियो । टाईब्रेकरमा निजगढका दुई जना खेलाडी गोल गर्न असफल भए ।
खेलको म्यान अफ द म्याच नेपाल खेलकुद क्लव रौतहटका रोशन पहरि घोषित भए । प्रतियोगिता अन्तर्गत दोश्रो सेमिफाइनलमा बिहिबार बारा एघार र नवजनजागृती युवा क्लब सिमरा बाराबिच प्रतिस्पर्धा हुनेछ ।