काठमाडौं । सेनेगल कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोट भएको छ ।
विश्वकप छनोट अन्तर्गत मंगलबार राति भएको प्ले अफको दोस्रो लेगमा इजिप्टलाई पेनाल्टी सुटआउटमा ३-१ ले हराउँदै सेनेगल विश्वकपमा छनोट भएको हो ।
खेलमा बोउलाए डियाले तेस्रो मिनेटमा गोल गर्दै सेनेगललाई १-० को जित दिलाएका थिए ।
तर, पहिलो लेगमा इजिप्टले १-० को जित निकालेको कारण समग्रमा खेल १-१ को बराबरी भएपछि खेल पेनाल्टीमा पुगेको हो ।

पेनाल्टीमा सेनेगलका साडियो माने,बाम्बा र इस्माइला सारले गोल गरे ।
इजिप्टका अमर इल सोलियाले मात्र गोल गरे । तर, मोहमद सलाह, मोस्ताफा मोहमद र अहमेद सायद पेनाल्टीमा चुके।
सेनेगलसँगै क्यामरुन, घाना, मोरक्को र ट्युनिसिया समेत अफ्रीकाबाट विश्वकपमा छनोट भएको छ ।