काठमाडौं । मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड गएको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कने भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोली आज सोमबार बेलुका ७ बजे नेपाल आईपुग्ने जनाएको छ ।
नेपालले थाइल्याण्डमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।
नेपालले थाइल्याण्डसँग २-० गोलको हार व्यहोरेको थियो ।
यस्तै थाइल्याण्डको क्लब चोनबुरी एफसीसँग ३-१ गोल अन्तरले पराजित भएको थियो ।
एएफसी एसियन कप छनोटको तेस्रो चरणको तयारीका लागि नेपाल मैत्रीपूर्ण खेल्न थाइल्याण्ड गएको हो ।
एसियन कप छनोटमा नेपाल समूह 'ए' मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।
नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।
नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।
दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ ।
नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।