इलाम । विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि फराकिलो जित दर्ता गर्दै पाहुना टोली मानेभञ्ज्याङ फुटबल क्लब दमक गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको तेश्रो क्वाटरफाइनल खेलमा आर्मीलाई ४–० गोल अन्तरले हराउँदै मानेभञ्ज्याङले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
मानेभञ्ज्याङको जितका लागि राकेश सिंहले दुई गोल, जेरी पुलामी र विमल कुमारले एक/एक गोल गरे ।
खेलको २७ औं मिनेटमा जेरी पुलामीले पहिलो गोल गरे । डिबक्समा रहेका पुलामीले प्रहार गरेको बलले गोलमा परिणत भएको हो । ४७ औं मिनेटमा राकेश सिंहले दोस्रो गोल गर्दै मानेभञ्ज्याङको अग्रतालाई दोब्बर बनाए । उनले गरेको लङ रेञ्ज प्रहार गोलमा परिणत भएको थियो ।
खेलको ६४ औं मिनेटमा विमल कुमारले माने भञ्ज्याङको अग्रतालाई तेब्बर बनाए । मध्यभागबाट बल लैजाँदै डिबक्सबाट गरेको प्रहार गोलमा परिणत भयो । मानेभञ्ज्याङले खेलको इन्ज्यरी समयमा थप एक गोल गर्दै ४–० को जित निश्चित गर्यो । आर्मीले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा हार व्यवहोर्नु पर्यो ।
आर्मी आफ्ना केही पहिलो रोजाईका खेलाडीहरु विना मैदान उत्रिएको थियो । टिमका महत्वपूर्ण ३ खेलाडी थाइल्यान्डमा नेपाली राष्ट्रिय टोलीबाट खेल्न गएका थिए ।
खेलको म्यान अफ दि म्याच मानेभञ्ज्याङका राकेश सिंह भए । उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे ।
सोमबारको अन्तिम क्वाटरफाइनल खेल विभागीय टोली नेपाल पुलिस क्लब र विदेशी टोली क्यामरुनको एमिनियर फुटबल क्लबबीच हुनेछ ।