इलाम । १२ औं संस्करणको इटहरी गोल्डकप आगामी चैत १९ गतेबाट हुने भएको छ ।
आयोजक राष्ट्रिय जागृति क्लबले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता चैत १९ बाट सुरु हुने जनाएको छ ।
इटहरी रंगशालामा आयोजना हुने प्रतियोगितामा ए डिभिजनका ३ क्लब सहित ८ टोलीको सहभागिता रहनेछ। प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब, मनाङ मर्स्याङ्दी क्लब, न्युरोड टिम (एनआरटी), झापा–११, मोरङ–११ र आयोजक राष्ट्रिय जागृति क्लब सहभागि हुँदैछन् ।
प्रतियोगितामा पाहुना टोलीको रुपमा कञ्चनजंघा एफसी भारत र एभरनिर एफसी क्यामरुनको सहभागिता रहने आयोजक क्लबका सदस्य कोवितजंग कार्कीले जानकारी दिए ।
चैत्र २६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ७ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्नेछ । त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई एक थान स्कुटी र उदियमान खेलाडीले ४० इन्चको आकर्षक एलईडी टिभी हात पार्ने छ ।
प्रत्येक दिनको म्यान अफ दि म्याचलाई नगद १० हजार र विधागत उत्कृष्टलाई १५ हजार रुपैया प्रदान गरिने आयोजक समितिका संयोजक अनुरोध थापाले जानकारी दिए ।
प्रतियोगितालाई कन्ट्रोल लुबरिकेन्टले मुख्य प्रायोजन गरेको छ । इटहरी नगरपालिकाले प्रतियोगिताको संयोजन गरेको हो । यसअघि २०७५ माघ १२ देखि १९ गतेसम्म इटहरी रंगशालामा मदन भण्डारी इटहरी गोल्डकप संचालन भएको थियो । प्रतियोगितामा मनाङलाई हराउँदै आर्मीले उपाधि जितेको थियो ।