नवराज चौलागाईं
निजगढ । निजगढ मेयर गोल्डकप फुटबलमा नेपाल खेलकुद क्लब रौतहटले विजयी सुरुआत गरेको छ ।
शनिबार भएको उद्घाटन खेलमा नेपाल खेलकुदले बिरगंज युथ एकेडेमीलाई १-० ले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।
नेपाल खेलकुदको जितमा म्याक्सवेलले निर्णायक गोल गरे । उनले खेलको इन्जुरी समयमा गोल गरे ।
यता बिरगंज गोलको अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा पराजित हुनपुग्यो ।
खेलको म्यान अफ द म्याच नेपाल खेलकुदका म्याक्सवेल घोषित भए । म्यान अफ द म्याच घोषित म्याक्सवेलले २ हजार रुपैंया प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत आईतबार बकुलिया एघार बारा र निजगढबीच प्रतिस्पर्धा हुनेछ ।
यसअघि प्रतियोगिताको निजगढका मेयर सुरेश कुमार खनालले उद्घाटन गरेका थिए ।
प्रतियोगिताको उद्घाटन गर्दै मेयर खनालले मेयर कप फुटबलको चौथो संस्करणसम्म आईपुग्दा प्रतियोगिताको स्तर वृद्धि र निजगढमा फुटबल खेलको बिकास भएको बताए ।
तेस्तै उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि नेपाल तेक्वान्दो संघ मधेशका अध्यक्ष पेमासिद्धि लामाले निजगढमा लामो समयदेखिको फुटबल खेलको बिकास गर्ने योजना लक्ष्य प्राप्तितर्फ अघि बढीरहेको बताए ।
निजगढ युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा निजगढ सहित बिरगंज युथ एकेडेमी,बकुलिया एघार बारा,बारा एघार,नवजनजागृति युवा क्लव सिमरा बारा,नेपाल खेलकुद क्लव रौतहट र हरिवन युथ क्लव सर्लाहीको सहभागिता रहेकोछ । प्रतियोगिताको बिजेताले उपाधिसहित १ लाख ५० हजार रुपैंया प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार रुपैंया प्राप्त गर्नेछ ।
प्रतियोगिताको विधागत रुपमा उत्कृष्ट गोलरक्षक,डिफेन्स,मिडफिल्डर,स्ट्राइकर र प्रतियोगिताको उच्च गोलाकर्ताले जनही ५ हजार रुपैंया प्राप्त गर्नेछन ।