एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत गत शनिबार सेभियाविरुद्धको खेलमा घाइते भएका बार्सिलोनाका कप्तान लियोनल मेस्सी अभ्यासमा फर्किएका छन् ।
घाइते भएपछि मैदान बाहिर रहेका मेस्सी बुधबारबाट अभ्यासमा फर्किएका हुन् । मेस्सी अभ्यासमा फर्किएको बार्सिलोनाले समेत पुष्टि गरेको छ ।
बार्सिलोनाले सामाजिक संजाल ट्वीटरमा अभ्यासको दौरान मेस्सी दौडिरहेको तस्बिर राख्दै लेखेको छ, 'मेस्सी अभ्यासमा फर्किएका छन् ।'
घरेलु मैदानमा नाउ क्याम्पमा सेभियाका फ्रान्को भाज्क्वेजसंग जुध्न पुग्दा मेस्सीको दाहिने हातको हड्डी भाच्चिएको थियो । उक्त खेल बार्सिलोनाले ४ - २ ले जितेको थियो । मैदान बाहिर निस्कनुअघि मेस्सीले एक गोल समेत गरेका थिए ।

उक्त खेलमा घाइते भएपछि मेस्सीले इन्टर मिलानविरुद्धको च्याम्पियन्स लिग र रियल मड्रिडविरुद्धको एल क्लासिको भिडन्त गुमाएका थिए । यस्तै मेस्सीले कोपा डेल रे अन्तर्गत कल्चरल लिओनेसाविरुद्धको खेल गुमाउने छन् ।
तर, बार्सिलोनाले मेस्सी चांडै खेलमा फर्कने बताएको छ । अन्तर्राष्ट्रिय समचार संस्थाहरुको अनुसार मेस्सी ला लिगा अन्तर्गत शनिबार हुने रायो भाल्लाकानोविरुद्ध खेल्न सक्ने सम्भावना रहेको जनाएको छ ।