इलाम । मनाङ मर्स्याङ्दी क्लब झापाको दमकमा जारी दमक गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेलमा बागमती युवा क्लबको चुनौती ४–२ गोल अन्तरले पन्छाउँदै मनाङले अन्तिम चारमा स्थान बनाएको हो ।
मनाङको जितमा अफिज ओलावलेले दुई गोल गरे । रुपेश केसीको नाममा एक गोल र एक गोल उपहार पाएको थियो । बागमतीको लागि विमल घिसिङ र ट्रिनिडा एन्ड टोवागोका जोमाउल फ्रेन्कोइचले गोल गरे ।
खेलमा सुरुवाती अग्रता मनाङले लिएको थियो । खेलको १४ औं मिनेटमा मनाङका ओलावलेले गोल गरे । तर, मनाङको अग्रता लामो समयसम्म टिक्न सकेन् । २७ औं मिनेटमा विमलले खेल बराबरीमा ल्याए ।
पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलमा दोश्रो हाफमा ४ गोल सम्भव बन्यो । खेलको ५३ औं मिनेटमा जमाउलले गोल गर्दै बागमतीलाई अग्रता दिलाएका थिए । ६७ औं मिनेटमा मनाङले आत्मघाती गोलबाट खेल बराबरीमा ल्याउन सफल रहयो । बल क्लियर गर्ने क्रममा बागमतीका सिलो मार्टिनले आत्मघाती गोल गरे ।
खेलको ७० औं मिनेटमा मनाङका कप्तान विमल रानाको पासमा ओलावलेले गोल गर्दै मनाङलाई अग्रता दिलाए । खेलको ८१ औं मिनेटमा मनाङका लागि रुपेश केसीले गोल गरे । बागमतीका गोलरक्षक मनोज प्रधानबाट रिवाउन्स भएको बललाई उनले गोलमा परिणत गरेका थिए ।
खेलको म्यान अफ दि म्याच विजेता टिमका अफिज ओलावले घोषित भए । उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे ।
शनिबारको दोस्रो क्वाटरफाइनल खेल गोर्खा ब्वाइज र पुलिस क्लब भारतबीच हुनेछ ।