नवराज चौलागाईं
निजगढ । सुदूरपश्चिम-११ ले बाराको सिमारामा जारि जितपुर सिमरा गोल्डकप फुटबलमा विजयी सुरुआत गरेको छ।
बिहीबार भएको उद्घाटन खेलमा ए डिभिजन क्लब फ्रेन्ड्सलाई ३-१ गोल अन्तरले पराजित गर्दै सुदूरपश्चिमले सुखद सुरुआत गरेको हो ।
खेलको २२ औं मिनेटमा दिपेन्क सिंह ठकुरीको गोलबाट सुदूरपश्चिमले सुरुआती अग्रता बनाएको थियो । सुदूरपश्चिमले दोस्रो हाफमा पनि फ्रेन्ड्सलाई दबाबमा राख्न सफल भयो ।
खेलको ५४ औं मिनेटमा दिपकराज सिंहले प्रहार गरेको बल फ्रेन्ड्सका गोलकिपर अशोक बरालले नियन्त्रणमा लिने प्रयास गरेपनि सफल नहुदा सुदूरपश्चिमले अग्रता दोब्बर बनायो ।
फ्रेन्ड्सले पनि खेलमा फर्किने थुप्रै अवसर पाएको थियो । ८२ औं मिनेटमा फ्रेन्ड्सका प्रेमबहादुर भण्डारीले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । तर, फ्रेन्ड्सले गोल गरेको १ मिनेट नबित्दै ८३ औं मिनेटमा फागुराम थारुले गोल गर्दै सुदूरपश्चिमलाई ३-१ को जित दिलाए ।
खेलको म्यान अफ द म्याच सुदूरपश्चिम एघारका दिपकराज सिंह भए । म्यान अफ द म्याच घोषित दिपकले ट्रफी सहित ५ हजार रुपैंया प्राप्त गरे ।
प्रतियोगिताको उद्घाटन मधेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्धिले गर्नुभएकोथियो । प्रतियोगिता अन्तर्गत शुक्रबार बिएफसी चितवन र बाग्मती युवा क्लव सर्लाहिबिच प्रतिस्पर्धा हुनेछ ।