दमक गोल्डकप : रुपन्देही क्वाटरफाइनल प्रवेश

इलाम । पाहुना टोली दुर्गापुर सन्डे क्लब कोलकत्तालाई फराकिलो अन्तरले हराउँदै गोर्खा ब्वाइज क्लब रुपन्देही झापाको दमकमा जारी दमक गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
दमकस्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा जारी प्रतियोगिताको दोश्रो प्रि–क्वाटरफाइनल खेलमा रुपन्देहीले कोलकत्तालाई ५–० गोल अन्तरको हराएको हो ।
रुपन्देहीको जितमा अफ्रिकी खेलाडी यान्निकले ह्याट्रिक गरे । सुसन तामाङ र सुनिल खड्काले १÷१ गोल गर्न सफल भए ।
खेलको दोस्रो मिनेटमा नै रुपन्देहीले खाता खोल्यो । मैदानको मध्यभागबाट मिक्चेन तामाङ क्रसमा यान्निकले गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलको २० औँ मिनेटमा यानिकले अग्रतालाई दोब्बर बनाए ।
मैदानको मध्यभागबाट आएको बललाई उनले गोलमा परिणत गरे । खेलको ५१ औँ मिनेटमा सुसन तामाङले गोल थपे । उनले विपक्षी गोलरक्षक अघि बढ्दा सहज गोल गरे ।
खेलको ७० औँ मिनेटमा सुनील खड्काले टिमको लागि चौथो गोल गरे । इन्ज्युरी समयमा यान्निकले ह्रयाट्रिक पुरा गरेपछि रुपन्देही ५–० गोल अन्तरको स्पष्ट जित सहित क्वाटरफाइनल प्रवेश गर्न सफल रहयो । खेलमा विजयी रुपन्देहीका यान्निक म्यान अफ दि म्याच घोषित हुँदै नगद दश हजार प्राप्त गरे ।
शुक्रबारको पहिलो क्वाटरफाइनल खेल बागमती युथ क्लब सर्लाही र मनाङ मर्स्याङ्दी क्लबबीच हुनेछ । बागमतीले यसअघि आयोजक दमक–११ लाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।












