काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्यान्डसँग पराजित भएको छ ।
थाइल्यान्डको चोनबरीमा भएको खेलमा घरेलु टोली थाइल्यान्डले नेपाललाई २–० गोल अन्तरले पराजित गरेको हो।
थाइल्यान्डको जितमा फिलिप रोलर र चाओवाट विराचार्टले गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपनि दोस्रो हाफमा थाइल्यान्डले दुई गोल गरेको थियो ।
फिलिपले ७८ औं मिनेटमा गोल गर्दै थाइल्यान्डलाई अग्रता दिलाए ।
चाओवाटले ८९ औं मिनेटमा गोल गर्दै थाइल्यान्डको जित सुनिश्चित गरे ।

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग खेलेको हो ।
यस्तै नेपालले थाइल्याण्डको क्लब चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ । उक्त खेल आइतबार हुनेछ ।
एसियन कप छनोटमा नेपाल समूह 'ए' मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।
नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।
नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।
दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ ।
नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।