काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन फुटबल लिग अन्तर्गत रानीपोखरी कर्नर टिम (आरसीटी) ले तेस्रो जित हात पारेको छ ।
सातदोबाटोस्थित एन्फा कम्पलेक्समा बिहीबार भएको खेलमा आरसीटीले सामाजिक युथ क्लबलाई ३–० ले पराजित गरेको हो ।
आरसीटीको जितमा प्रज्वल गुरुङले दुई तथा विश्वास थापा मगरले एक गोल गरे ।
विश्वासले खेलको ५ औं मिनेटमा गोल गर्दै आरसीटीलाई अग्रता दिलाए ।
प्रज्वल गुरुङले खेलको २० औं मिनेटमा गोल गर्दै आरसीटीको अग्रता दोब्बर बनाए ।
प्रज्वलले २४ औं मिनेटमा अर्को गोल गर्दै आरसीटीको जित सुनिश्चित गरे ।
जितसँगै आरसीटीले ८ खेलबाट १२ अंक जोड्दै तालिकाको चौथों स्थानमा उक्लिएको छ ।
सामाजिक युथले भने ८ खेलबाट ७ अंक जोड्दै नवौं स्थानमा यथावत रहेको छ ।