काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन फुटबल लिग अन्तर्गत बाँसबारी क्लबले दोस्रो जित दर्ता गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्पलेक्समा बुधबार भएको खेलमा बाँसबारीले श्री भगवती क्लबलाई २–१ ले पराजित गर्दै सात खेलमा दोस्रो जित हात पारेको हो ।
बाँसबारीको जितमा राजेश पौडेल र विके राईले एक–एक गोल गरे ।
श्री भगवतीका लागि एकमात्र गोल दामोदर थापा क्षेत्रीले गरे ।
राजेशले ५२ औं मिनेटमा गोल गर्दै बाँसबारीलाई अग्रता दिलाए ।
श्री भगवतीका दामोदरले ६९ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पुर्याए ।
तर ८२ औं मिनेटमा विके राईले पेनाल्टीमार्फत गोल गरेपछि बाँसबारीको जित सुनिश्चित भएको हो ।
जितसँगै ७ खेलबाट ९ अंक जोडेको बाँसबारी लिग तालिकाको छैठौं स्थानमा उक्लिएको छ ।
यता श्री भगवतीको भने दोस्रो पराजय हो । श्री भगवती ७ खेलबाट १३ अंकसहित तेस्रो स्थानमा रहेको छ ।