इलाम । नेपाल सुपर लिग क्लब स्पोर्टिङ इलाम डी मेचीले लेवनानी गोलरक्षक भित्र्याएको छ ।
आसन्न एनएसएलको लागि इलामले लेवनानी राष्ट्रिय टोलीका गोलरक्षक मोहम्मद ताहालाई ल्याउने पक्का भएको क्लबका मालिक सुहाङ नेम्बाङले बताए ।
उनले विदेशी कोटाबाट ताहासंग इलाम टिममा सहभागि हुने बारेमा पक्का भइसकेको बताए ।
२३ वर्षीय ताहा हाल माल्दिभ्सको द्धिवेही प्रिमियर लिगमा क्लब इगलबाट खेलिरहेका छन् । उनी सम्मिलित क्लब लिगमा दोश्रो स्थानमा रहेको छ ।
राष्ट्रिय टोलीमा डेब्युको पर्खाइमा रहेका ताहाले लेवनानको यु–१९ टोलीबाट खेलिसकेका छन् । यसअघि इलामले विदेशी खेलाडी कोटाबाट नाथेनियल गार्सिया, पिटर सेगुन र अजयी मार्टिनलाई क्लबमा भित्र्याएको थियो ।
लामो समय देखि नेपालमा फुटबल खेल्दै आएका पिटर र अजयी सहिद स्मारक लिगमा सातदोबाटोबाट खेलेका थिए । ट्रिनिडा एन्ड टोवागोका गार्सियाले फ्रेन्डस क्लबलाई रेलिगेसन हुनबाट जोगाएका थिए ।