काठमाडौं । मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज थाइल्याण्ड प्रस्थान गर्दै छन् ।
नेपाली टोली अपरान्ह १२ बजे पछि थाइल्याण्ड प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीलाई आइतबार नै बिदाइ गरिसकेको छ ।
नेपालले थाइल्याण्डमा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले थाइल्याण्डसँग बिहीबार खेल्नेछ ।
यस्तै नेपालले थाइल्याण्डको क्लब चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ । उक्त खेल आइतबार हुनेछ ।
एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग खेल्न लागेको हो ।
छनोटमा नेपाल समूह 'ए' मा रहेको छ।नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।
नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ ।
एएफसीले छनोटमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेको हो ।
हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।
छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।
नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।
दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ ।
नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।