काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले थाइल्याण्डविरुद्धको मैत्रीपूर्ण खेल नेपालका लागि महत्वपूर्ण हुने बताएका छन् ।
थाइल्याण्ड जानुअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले गरेको बिदाइमा बोल्दै प्रशिक्षक अल्मुताईरीले मैत्रीपूर्ण खेल फिफा वरीयता सुधार र एएफसी एसियन कप छनोटका लागि महत्वपूर्ण हुने बताएका हुन् ।
'थाइल्याण्ड राष्ट्रिय टिमविरुद्धको पहिलो खेल महत्वपूर्ण हुनेछ किनकि थाइल्याण्ड त्यही क्षेत्रको हो जहाँ इन्डोनेसिया पर्छ र उनीहरु जोर्डन र कुवेतको वरीयतामा रहेका छन् र यो हाम्रो लागि राम्रो हो,' प्रशिक्षक अल्मुताईरीले भने ।
एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग खेल्न लागेको हो । नेपालले थाइल्याण्डसँग बिहीबार खेल्नेछ ।
छनोटमा नेपाल समूह 'ए' मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।
'जितले हाम्रो वरीयतामा सुधार गर्न मद्दत गर्छ । विश्वकप छनोट खेलको प्रदर्शनले हाम्रो वरीयता सुधारिएको छ,' प्रशिक्षक अल्मुताईरीले थपे, 'यदि थाइल्याण्डविरुद्ध जित निकाल्न वा बराबरी गर्न सके अझै वरीयता माथि पुग्नेछ । यो खेल वरीयतामा अंक थप्न मद्दत गर्छ ।'
यस्तै नेपालले थाइल्याण्डको क्लब चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ । उक्त खेल आइतबार हुनेछ ।
प्रशिक्षक अल्मुताईरीले आफुले युवा खेलाडीलाई प्राथमिकता दिने बताए । उनले हारजित भन्दा पनि खेलाडीले हृदयबाट खेल्नु महत्वपूर्ण रहेको बताए ।
'राष्ट्रिय टिम बनाउन युवा खेलाडी प्रयोग गर्छु । जित्नु र हार्नु खेलको एक पाटो हो तर कुरा भनेको चोट नबोक्नु हो किनकि यो मैत्रीपूर्ण खेल हो,' प्रशिक्षक अल्मुताईरीले भने, 'हामीले हृदय देखि खेल्नु महत्वपूर्ण हो । हामीले राम्रो गर्दै आएका छौं र मलाई लाग्छ हामीले जित निकाल्न सक्छौं ।'