काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन फुटबल लिग अन्तर्गत सरस्वती युथ क्लबले दोस्रो जित हात पारेको छ ।
सातदोबाटोस्थित एन्फा कम्पलेक्समा शुक्रबार भएको खेलमा सरस्वतीले खुमलटार युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
सरस्वतीको जितमा अनिस परियार र अर्जुन गुरुङले एक–एक गोल गरे ।
खुमलटारका लागि एकमात्र गोल सविन केसीले गरे ।
सविनले २७ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर सरस्वतीले एक गोलको अग्रतालाई उल्टाएर दुई गोल गर्दै खेल जित्यो ।
अनिसले ४९ औं मिनेटमा सरस्वतीका लागि गोल गर्दै खेल १–१ को बराबरीमा पुर्याए ,
निर्धारित समयको ५ मिनेट बाकी छदा ८५ औं मिनेटमा अर्जुनले गोल गर्दै सरस्वतीलाई जित दिलाए ।
सरस्वतीको यो चार खेलमा दोस्रो जित हो भने उसले दुई खेलमा बराबरीको नतिजा निकालेको छ ।
सरस्वतीले चार खेलबाट ८ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ ।
शीर्ष स्थानमा रहेको चर्च ब्वाईजले लगातार तीन खेल जित्दै ९ अंक जोडेको छ ।
यता खुमलटारले भने दोस्रो पराजय भोगेको छ । दुई खेलमा जित हात पारेको खुमलटार ६ अंकसहित चौथों स्थानमा झरेको छ ।