काठमाडौं । नेपाली यू–१८ महिला टिमकी कप्तान प्रिती राईले साफ यू–१८ महिला च्याम्पियनसिप जित्ने लक्ष्य रहेको बताएकी छन् ।
च्याम्पियनसिपका लागि भारत जानु अघि अखिल नेपाल फुटबल संघ एन्फाले गरेको विदाई कार्यक्रमपछि बोल्दै प्रितीले नेपालको लक्ष्य भनेको उपाधि जित्ने रहेको बताईन् ।
‘तयारी राम्रो छ । एक महिनाको अभ्यास गर्यौ । टिममा सुधार भएको छ । त्यस अघि पनि अभ्यास गरिरहेका कारण फिटनेशमा समस्या भएको छैन् । प्रतियोगितामा बलिया टोली रहेपनि राम्रो खेल्ने तथा उपाधि जित्ने लक्ष्य रहेको छ,’ कप्तान प्रितीले भनिन् ।
यसैबीच एन्फाले नेपाली टिमको शुक्रबार विदाई गरेको छ ।
एन्फाले शुक्रबार एन्फा कम्पलेक्समा आयोजित कार्यक्रमबीच नेपाल टिमको विदाई गरेको हो ।
च्याम्पियनसिप भारतको जमसेदपुरमा मार्च १५ देखि २५ तारिखसम्म हुनेछ ।
नेपाल च्याम्पियनसिपका लागि शनिबार भारत प्रस्थान गर्नेछ ।
च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहने छ ।
डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनशीपको उद्घाटन खेलमा नेपालले आयोजक भारतसँग खेल्नेछ । नेपाल र भारतबीचको खेल मार्च १५ मा हुनेछ ।
दोस्रो खेलमा नेपालले मार्च १७ मा बंगलादेशको सामना गर्नेछ ।
यस्तै मार्च २१ मा फेरि भारतसँग खेल्दा नेपालले मार्च २३ मा बंगलादेशसँग खेल्नेछ ।
शीर्ष टोलीले उपाधि जित्नेछ ।
यू–१८ टिमका प्रमुख प्रशिक्षक प्रशिक्षक दर्शन भक्त राजलवटले २३ खेलाडी सम्मिलित टोली घोषणा गरिसकेका छन् ।
नेपाली टोली –
सावित्री किशन, लिला जोशी, पुजा थापा, सबिना चौधरी, मन्जु कुमारी खड्का, प्रतिक्षा चौधरी, कुमारी तामाङ, प्रिया बस्नेत, दिव्या यास्माली मगर, दिपा शाही, हिमा रावत, सरस्वती हमाल, प्रिती राई, शुनकला राई, अन्जली मछामासी, सराह बज्राचार्य, जेनिफर राना, शरिश्मा थापा, सदिपा भोलान, कुशुम खतिवडा, अमिशा कार्की, मनमाया दमाई, गरिमा राई