काठमाडौं । श्री भगवती क्लबले सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।
एन्फा कप्लेक्स सातदोबाटोमा शनिबार ब्वाइज युनियनलाई २-१ गोल अन्तरले हराएर श्री भगवतीले दोस्रो जित निकालेको हो ।
खेलको छैटौं मिनेटमा विनोद राईले गोल गर्दै ब्वाइजलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, २७ औं मिनेटमा ब्वाइजका कप्तान बिष्णु बहादुर सुनारले आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरीमा पुग्यो ।

त्यसपछि खेलको ८५ औं मिनेटमा अमित लामाले गोल गर्दै श्री भगवतीलाई २-१ को जित दिलाए ।
पहिलो खेलमा श्री भगवतीले झम्सिखेल युथ क्लबलाई ३-१ गोल अन्तरले हराएको थियो ।
जितसँगै श्री भगवतीले २ खेलमा ६ अंक जोडेको छ । ब्वाइजले २ खेलमा ३ अंक जोडेको छ।
लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।
शीर्ष दुई टोली 'ए' लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।