काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीका युक्रेनी डिफेन्डर ओलेक्सान्डर जिन्चेन्कोले युक्रेनको पक्षमा उभिएको विश्वलाई धन्यवाद दिएका छन् ।
रुसले युक्रेनमाथि आक्रमण गरेको विषयमा बीबीसीसँगको अन्तर्वार्तामा डिफेन्डर जिन्चेन्कोले विश्वलाई धन्यवाद दिएका हुन् ।
'म धेरै आभारी छु । यहाँ पाएको समर्थनको लागि सबैप्रति धेरै आभारी छु । मलाई थाहा थिएन की यस्तो हुन्छ,' बीबीसीसँग उनले भने, 'त्यसैले सबैलाई धरै धन्यवाद भन्न चाहन्छु । म यसको कदर गर्छु ।'
गत साताबाट रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । जसको कारण १० लाख युक्रेनीले देश छाडेका छन् । अन्य भने युद्द लड्न देश छाडेका छैनन् ।
यस्तै २५ वर्षीय डिफेन्डर जिन्चेन्कोले युक्रेनी जनताले हार नमान्नेमा आफुलाई विश्वास रहेको बताए ।
'युक्रेनलाई समर्थन गर्नेहरु धेरै छन् । उनीहरुले साथ दिएका छन् । हार नमान्नुहोस् । र, मलाई थाहा छ मेरा मानिसहरुले त्यसो गर्दैनन्,' उनले भने ।

पछिल्लो समय युक्रेनमाथि रुसी आक्रमणको खेल क्षेत्रबाट चौतर्फी विरोध भईरहेको छ ।
फिफा र यूईएफएले रुसमाथि प्रतिबन्ध लगाईसकेको छ ।
विभिन्न देशले रुससँगको खेल रद्द गरिसकेको छ
जिन्चेन्कोले आफुलाई युक्रेनी भएको गर्व लागेको समेत बताए । उनले छोरी र परिवार नभएको भए आफु यो समय युक्रेनमा हुने समेत बताए ।
'इमान्दारसाथ भन्छु । यदि मेरो छोरी र परिवार थिएन भने म त्यहाँ हुने थिए । म मेरा देशका मानिसलाई म चिन्छु । उनीहरुको मानसिकता,' उनले थपे, 'युक्रेनी हुनुमा गर्व छ । जीवनभर युक्रेनी रहने छु ।'