काठमाडौं । सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज शनिबार एक खेल हुँदैछ ।
धनगढी रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र नव जन जागृति युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
ए डिभिजन क्लब हिमालयन आज मोफसलको टोली जन जागृतिलाई अर्को चरणमा पुग्न चाहन्छ । जागृति पनि हिमालयनलाई हराएर अर्को चरणमा पुग्न चाहन्छ ।
यस अघि प्रतियोगिताको उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी क्लबले भारतको दिल्ली फुटबल क्लबलाई हराएको थियो । त्यस्तै दोस्रो खेलमा बागमती युथ क्लबले न्युरोड टिम एनआरटीलाई पेनाल्टी सुटआउटमा हराएको छ ।
आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।
सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।
प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा टिकट दर राखिएको छ । जसमा विद्यार्थीका लागि १ सय र अन्यका लागि १ सय ५० राखिएको छ ।
प्रतियोगिताको प्रत्यक्ष प्रशारण खेलपाटी डटकमले गरिरहेको छ । प्रत्यक्ष प्रशारण फेसबुक पेज र युट्युबबाट हेर्न सकिनेछ ।