काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले लिगको आफ्नो अन्तिम खेलमा जित निकालेको छ ।
शनिबार भएको खेलमा एनआरटीले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-१ ले हराएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक गोलको अग्रता उल्टाएर एनआरटीले जित निकालेको हो ।
एनआरटीलाई जित दिलाउन मेसुके ओलोमोउले ह्याट्रिक गोल गरे ।
खेलको १२ औं मिनेटमा एनआरटीका डिफेन्डर शिव गुरुङले आत्मघाती गोल गरेपछि पुलिसले अग्रता बनाएको हो ।
पुलिसका रबि शंकर पासवानको सशक्त प्रहार क्लियर गर्ने क्रममा उनले आफ्नै पोस्टमा गोल गरे ।
तर, खेलको ४७ औं मिनेटमा मेसुकेले गोल गर्दै एनआरटीलाई १-१ को बराबरीमा ल्याए ।
कप्तान दर्शन गुरुङले उपलब्ध गराएको बलमा उनले सहजै गोल गरे ।
खेलको ६२ औं मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई २-१ को अग्रता दिलाए । एरिक विष्टको फ्रि-किकमा उनले हेडरमार्फत गोल गरे ।
त्यसपछि खेलको ८३ औं मिनेटमा मेसुकेले ह्याट्रिक पूरा गर्दै एनआरटीलाई ३-१ को जित दिलाए । उनले एकल प्रयासमा गोल गरेका हुन् ।
यस जितसँगै एनआरटीले तेस्रो स्थानमा रहदै लिगको अन्त्य गरेको छ ।
एनआरटीले १३ खेलमा २३ अंक जोड्यो ।
आर्मीसँग अंक बराबर भएपछि हेड टु हेडमा एनआरटी पछि परेको हो ।
पुलिसले १३ खेल १२ अंक जोड्यो । पुलिस ११ औं स्थान रह्यो ।