काठमाडौं । ब्रेन्टफोर्डका मिडफिल्डर क्रिस्टियन एरिक्सनले प्रिमियर लिग अन्तर्गत न्युकासलविरुद्धको खेलबाट क्लबमा डेब्यु गर्ने भएका छन् ।
न्युकासलविरुद्ध खेल्ने ब्रेन्टफोर्डको टोलीमा एरिक्सन परेका छन् ।
ब्रेन्टफोर्डले शनिबार न्युकासलविरुद्ध खेल्नेछ ।
ब्रेन्टफोर्डका मुख्य प्रशिक्षक थोमस फ्रान्कले पनि एरिक्सनले डेब्यु गर्ने पुष्टि गरेका छन् ।
प्रशिक्षक थोमसले न्युकासलविरुद्ध एरिक्सन र उनको परिवारका लागि ठुलो दिन रहने बताए ।
डेनिस मिडफिल्डर एरिक्सन गत महिना ब्रेन्टफोर्डमा अनुबन्धित भएका थिए ।
एरिक्सनलाई ब्रेन्टफोर्डले यस सिजनको अन्तिमसम्मका लागि अनुबन्ध गरेको हो ।
२९ वर्षीय एरिक्सन दुई वर्षपछि प्रिमियर लिग फर्किएका हुन् ।
एरिक्सन सन् २०२० मा टोटेनहमबाट इन्टर मिलान गएका थिए ।
तर, एरिक्सनले युरोकप दौरान भएको हृदयघातपछि फुटबल खेलेका छैनन् ।
एरिक्सन करिब ८ महिनापछि मैदान उत्रन लागेका हुन् ।
इटालियन क्लब इन्टरसँगको सम्झौता रद्द गरेपछि एरिक्सन इंग्लिस क्लब आएका हुन् ।
मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर (आइसिडी) नहटाएसम्म इटालीमा खेल्न नपाउने भएपछि एरिक्सन र इन्टरले सम्झौता रद्द गरेको हो ।
हृदयघात भएपछि डेनमार्कका मिडफिल्डर एरिक्सनको शरीरमा आइसिडी जडान गरिएको छ ।
युरोकपमा फिनल्याण्डविरुद्धको खेल दौरान हृदयघात भएर एरिक्सन मैदानमा ढलेका थिए ।
मैदानमा ढलेपछि २९ वर्षीय मिडफिल्डरलाई तत्काल मैदानमै सीपीआर दिईएको थियो । जसको कारण उनको ज्यान बचेको थियो ।