काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको आफ्नो अन्तिम खेलमा थ्री स्टार क्लबले ब्रिगेड ब्वाइजसँग बराबरी खेल्दै अंक बाडेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा थ्री स्टारले ब्रिगेडसँग १-१ गोलको बराबरी खेलेको हो ।
ब्रिगेडले बनाएको सुरुआती अग्रता उल्टाएर थ्री स्टारले बराबरी खेलेको हो ।
खेलको इन्जुरी समयमा डोना थापाले गोल गरेपछि थ्री स्टार हारबाट जोगिएको हो ।
६८ औं मिनेटमा लाकेन लिम्बुको स्थानमा मैदान प्रवेश गरेका डोनाले इन्जुरी समयको चौंथो मिनेटमा गोल गरेका हुन् ।
त्यसअघि प्रशान्त तामाङले गोल गर्दै ब्रिगेडलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६ औं मिनेटमा प्रशान्तले गोल गरेका थिए ।
बराबरीसँगै थ्री स्टारले १३ खेलमा १९ अंक जोडेको छ ।
थ्री स्टारले छैटौं स्थानमा रहेर लिगको अन्त्य गरेको छ ।
ब्रिगेड १३ खेलमा ८ अंक जोडेर १३ औं स्थानमा रह्यो ।
ब्रिगेड यस सिजन रेलिगेसनमा परेको छ ।