काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमण्ड युरोपा लिग फुटबलको अन्तिम ३२ बाट बाहिरिएको छ ।
बिहीबार राति भएको अन्तिम ३२ को दोस्रो लेगमा रेन्जर्ससँग २-२ गोलको बराबरी खेलेपछि डर्टमण्ड समग्रमा ६-४ ले पराजित हुँदै बाहिरिएको हो ।
पहिलो लेगमा ४-२ गोलको जित निकालेको रेन्जर्स भने अन्तिम १६ मा प्रवेश गरेको छ ।
घरेलु मैदानमा रेन्जर्सका लागि जेम्स ताभेरनीरले दुई गोल गरे ।
डर्टमण्डका जुड बेलिङघम र डोनएल मालेन एक एक गोल फर्काए ।

स्पेनिस क्लब सेभियाले अन्तिम १६ मा स्थान बनाएको छ ।
दोस्रो लेगमा डिनामो जाग्रेबसँग १-० ले पराजित भएपनि सेभियाले समग्रमा ३-२ को जित निकाल्यो ।
स्पेनको रियल सोसिडाडलाई समग्रमा ५-३ ले हराएर आरबी लाइपजिग अन्तिम १६ मा प्रवेश गरेको छ ।
यस्तै एफसी पोर्टो, एट्लान्टा र रियल बेटिसले अन्तिम १६ मा स्थान बनाएका छन् ।