एजेन्सी । नापोलीमाथि शानदार जित सहित बार्सिलोना युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।
बिहिबार राति अन्तिम ३२ को दोस्रो लेगको खेलमा फराकिलो जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गरेको हो ।
दोस्रो लेगको खेलमा बार्सिलोनाले सिरि ए क्लब नापोलीलाई ४–२ गोल अन्तरले हरायो ।
समग्रमा ५–३ को जित सहित बार्सिलोनाले प्रि–क्वार्टर फाइनलको यात्रा तय गर्यो ।
खेलको सुरुवातमा जोर्डी अल्बा र फ्रेन्कि डी जोङको गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो ।
लोरेन्जो इन्साइनले पेनाल्टीमा गोल गर्दै नापोलीको आशा बढाएका थिए ।
तर जेरार्ड पिके र पियरिक इम्रिक अबुमियाङले गोल गर्दै बार्सिलोनालाई शानदार जिततर्फ अघि बढाए ।
माटेओ पोलिटानोले नापोलीका लागि अन्तिम एक गोल गरे ।
प्राप्त जितसँगै बार्सिलोना युरोपा लिग उपाधिको बलियो दाबेदार देखिएको छ । जाभीले रोनाल्ड कोम्यानलाई प्रतिस्थान गरेसँगै बार्सिलोनाको नतिजा समेत राम्रो देखिएको छ ।