काठमाडौ । भक्तपुर कप फुटबल प्रतियोगिताको फाइनलमा भक्तपुरकै दुई टिमबीच प्रतिस्पर्धा हुने भएको छ ।
शनिबार हुने फाइनलमा आयोजक भक्तपुर युवा टिम र भक्तपुर फुटबल क्लब (भक्तपुर एफसी) बीच प्रतिस्पर्धा हुने भएको हो ।
पहिलो सेमिफाइनलमा बिहीबार केदारनाथ सुटर्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गर्दै आयोजक टिम फाइनलमा प्रवेश गरेको हो । खेलको निर्धारित र थप गरिएको समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।
यस्तै दोस्रो सेमिफाइनल खेलमा भक्तपुर सोल्टी नेपाललाई ६-० को फराकिलो गोल अन्तरले हराएर आयोजकसँगको भेट पक्का गर्यो ।
विजेताले १ लाख १५ हजार नगद पाउने छन् । दोस्रोले ५५ हजार नगद प्राप्त गर्ने आयोजकका अध्यक्ष केशव त्वानाबासुले जनाए ।
प्रतियोगितामा काठमाडौं उपत्यका र उपत्यका बाहिरका १६ वटा टिमले सहभागिता जनाएका थिए ।