एरिक्सन आयाक्सको टिमसँग प्रशिक्षणमा

काठमाडौं । डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सनले डच क्लब आयाक्सको रिजर्भ टिमसँग प्रशिक्षण थालेका छन् ।
आयाक्सले मिडफिल्डर एरिक्सनले आफ्नो टोलीसँग प्रशिक्षण गरिरहेको जनाएको छ।
आयाक्स एरिक्सनको पूर्व क्लब समेत हो ।
२९ वर्षीय एरिक्सन हाल कुनैपनि क्लबमा आबद्द छैनन् ।
तर, आफ्नो फिटनेसलाई कायम राख्न उनले आयाक्सको टोलीसँग प्रशिक्षण सुरु गरेको बताईएको छ ।
पछिल्लो समय एरिक्सन इंग्लिस प्रिमियर लिग क्लब ब्रेन्टफोर्ड जाने चर्चा छ ।
द एथ्लेटिक युकेको अनुसार ब्रेन्टफोर्डले एरिक्सनलाई ६ महिनाको लागि अनुबन्ध गर्ने जनाएको छ ।
एरिक्सनले युरोकप फुटबल दौरान भएको हृदयघातपछि फुटबल खेलेका छैनन् ।
उनले इटालियन क्लब इन्टर मिलानसँगको सम्झौता रद्द गरेका थिए ।
मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर (आइसिडी) नहटाएसम्म इटालीमा खेल्न नपाउने भएपछि एरिक्सन र इन्टरले सम्झौता रद्द गरेको हो ।
हृदयघात भएपछि डेनमार्कका मिडफिल्डर एरिक्सनको शरीरमा आइसिडी जडान गरिएको छ ।
युरोकपमा फिनल्याण्डविरुद्धको खेल दौरान हृदयघात भएर एरिक्सन मैदानमा ढलेका थिए ।
मैदानमा ढलेपछि २९ वर्षीय मिडफिल्डरलाई तत्काल मैदानमै सीपीआर दिईएको थियो । जसको कारण उनको ज्यान बचेको थियो ।