काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लब बराबरीमा रोकिएको छ ।
सोमबार भएको खेलमा पुलिस ब्रिगेड ब्वाइज क्लबसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
ब्रिगेडसँग अंक बाड्नु परेपछि पुलिसका मुख्य प्रशिक्षक अनन्त राज थापा खुशी देखिएनन् । उनले जित्नैपर्ने खेलमा बराबरीमा रोकिनु परेको बताए ।
'तीन अंकका लागि खेल्न आएका थियौं । अट्याकिङ फुटबल खेल्न आएका थियौं । तर डिफेन्स कमजोर जस्तो देखियो । अवसर निकालेका पनि थियौं,' उनले भने, 'जितेको भए हामी माथि जाने थियौं । आफू भन्दा तलको टिमलाई तीन अंक नदिने रणनीति थियो । तीन अंक दिएनौ ।'
प्रशिक्षक थापाले फुटबल आधुनिक भईसकेको र आफ्नो टिमले समेत विदेशी खेलाडी ल्याउनु पर्ने देखिएको बताए ।
'फुटबल मोर्डन भईसक्यो । अब हामीले पनि विदेशी खेलाडी ल्याउनु पर्छ । त्यसको बारेमा सोच्नु पर्छ । अब सबै व्यवसायिक हुनुपर्छ,' उनले भने, 'सबै टिममा विदेशी खेलाडी हुदा राम्रो खेलिरहेका छन् । हामीले पनि सोच्नु पर्छ ।'
ब्रिगेडका प्रशिक्षक सनोज श्रेष्ठले बराबरीले रेलिगेसन दबाब थपिएको बताए ।
'सुरुमै गोल निकाल्न सफल भयौं तर मार्किङमा चुक्दा गोल खान पुग्यौं । दुबै टोलिले अवसर पाएका थियौं । गोल हुन सकेन,' उनले भने, 'आजको बराबरीले दबाब सिर्जना गरेको छ । आज दुबै टोलिलाई जित्नै पर्ने दबाब थियो ।'