काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लब बराबरीमा रोकिएको छ ।
सोमबार भएको खेलमा पुलिसले ब्रिगेड ब्वाइज क्लबसँग १-१ गोलको बराबरी खेलेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुआती एक गोलको अग्रता उल्टाएर पुलिसले बराबरी खेलेको हो ।
खेलको दोस्रो मिनेटमा रोशन राना मगरले गोल गर्दै ब्रिगेडलाई सुरुआती अग्रता दिलाएका थिए ।
काउन्टरमा ब्रिगेडका शिशिर लेखीको प्रहार पुलिसका गोलकिपरले रोकेपछि आएको रिबाउन्ड बल डिफेन्डरले क्लियर गर्न नसकेको अवस्थामा रोशनले गोल गरे ।
तर, खेलको चौंथो मिनेटमा बुद्ध तामाङले गोल गर्दै पुलिसलाई १-१ गोलको बराबरीमा ल्याएका थिए । उनले फ्रि-किकमार्फत गोल गरे ।
दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल बराबरीमा सकियो ।
यस बराबरीसँगै पुलिसले ८ खेलमा ७ अंक जोडेको छ ।
पुलिस ११ औं स्थानमा रहेको छ ।
ब्रिगेडले ८ खेलमा ६ अंक जोडेको छ ।
ब्रिगेड १२ औं स्थानमा रहेको छ ।
खेलमा ब्रिगेडका अनिल गुरुङ म्यान अफ दि म्याच चुनिए ।
ब्रिगेडकै रोशन इमर्जिङ प्लेयर चुनिए ।