काठमाडौं । पछिल्लो समय नेपाली घरेलु फुटबलमा धेरै परिवर्तन आएको छ, त्यसकै एउटा बलियो उदाहरण हो, अहिलेको सहिद स्मारक लिग ए डिभिजन ०७८ मा पुलिस सात खेलबाट छ अंक जोडेर ११ औं स्थानमा रहनु ।
विश्वास गर्न गाह्रो के छ भने पुलिस ब्रिगेड ब्वाइजको ठीक माथि मात्र छ । ब्रिगेड ब्वाइज पाँच अंकसहित १२ औं स्थानमा छ ।
त्यो अर्थमा सोमबार यी दुई टिम भिड्दा यो अंक तालिकाको पुछारतिर रहेका टिमबीचको खेल हुनेछ । ब्रिगेड ब्वाइजविरुद्ध पुलिसको प्रदर्शनको इतिहास भने बलियो छ ।
लिगका पछिल्ला पाँच संस्करणमा यी दुई टिमबीच तीन खेल भएको छ र त्यसमध्ये दुईमा पुलिस विजयी रहेको छ, एक खेल भने बराबरीमा टुंगेको छ ।
वर्ष ०७६ मा पुलिस भरत शाहको निर्णायक गोलको मदतले ब्रिगेड ब्वाइजलाई १–० ले हराउन सफल रहेको थियो ।
वर्ष ०७५ को खेल भने १–१ को बराबरी रह्यो । त्यसमा पुलिसका लागि अभिषेक रिजाल र ब्रिगेड ब्वाइजका लागि ऋतिक खड्काले गोल गरे । त्यस अगाडि वर्ष ०६८ मा भने पुलिस ५–० ले विजयी रह्यो ।
त्यसमा पुलिसका लागि भरत खवास र जुमनु राईले दुई दुई गोल गरे । एक अर्को गोल योगेश श्रेष्ठको नाममा रह्यो । अहिले यी गोल गरेका खेलाडीको सूची बनाउने हो भने त्यसमध्ये अधिकांस अहिले अन्यत्र क्लबका खेलिरहेका छन् ।
यो पनि घरेलु नेपाली खेलकुदमा आएको अर्को परिवर्तन रहेको छ ।