काठमाडौं । मरिससविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले घोषणा गरेको प्रारम्भिक टिममा एउटा नाम त्यस्तो पनि परेको छ, जसले यो घोषणा आफैलाई रोमाञ्चक बनाएको छ ।
अहिलेका सहिद स्मारक लिग ए डिभिजन ०७८ मा आर्मीबाट खेलिरहेका जगजित श्रेष्ठ पनि यस प्रारम्भिक टिममा परेका हुन् ।
जगजित अन्तिम सूचीमा पर्ने छन् अथवा छैनन्, परे पनि उनले खेल्ने छन् अथवा छैनन्, त्यो प्रतीक्षालायक रहनेछ ।
अहिले तत्काल भने उनले अहिलेसम्म तय गरेको नेपाली टिमको यात्राबारे चर्चा गर्दा त्यो पनि मीठै सम्झना रहनेछ ।
उनले नेपालका लागि अन्तिम पटक सन् २०१५ मा खेलेका थिए, जति बेला नेपाल साफ च्याम्पियनसिप खेल्न भारतको केरलामा थियो ।
उनी भारतविरुद्धको खेलमा ठ्याक्कै दोस्रो हाफमा मैदानमा प्रवेश गरेका थिए, विमल घर्तिमगरको स्थानमा ।
यो उनले जितेको २९ औं क्याप थियो । यस अर्थमा उनले अन्तिम पटक प्रशिक्षक प्याट्रिक ओसेम्सका लागि खेले ।

उनले नेपालका लागि डेब्यु भने सन् २०११ मा गरेका थिए, जति बेला नेपालले पोखरामा भुटानको सामना गरेको थियो ।
अवसर थियो, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल नै ।
उनलाई त्यति बेला अवसर दिएका थिए, ग्राहम रोबर्टसले ।
भुटानविरुद्धको दोस्रो खेलमा उनले सुरुमै खेल्न पाएका थिए ।
त्यति बेला उनीसँगै दुई अन्य खेलाडीले पनि डेब्यु गरेका थिए र ती थिए, नीराजन मल्ल र सुजल श्रेष्ठ ।
जगजितले अहिलेसम्म नेपालका लागि एक गोल गरेका छन्, टिमोर लिस्टेविरुद्ध ।