काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज सोमबार एक खेल हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा विभागीय टिम नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
पुलिस र ब्रिगेडबीचको खेल आठौं चरणको अन्तिम लिग खेल हो । पुलिस र ब्रिगेडबीचको खेल १:०० बजे सुरु हुनेछ ।
पुलिस ७ खेलमा ६ अंक जोडेर ११ औं स्थानमा रहेको छ । पुलिस ब्रिगेडलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।
पुलिसका मुख्य प्रशिक्षक अनन्त राज थापाले तीन अंककै लागि खेल्ने बताए ।
'अबको आउने खेलहरु हाम्रो लागि एकदमै महत्वपूर्ण रहेको छ । सबै टिम हाम्रै स्तरको टिम छ । त्यसैले हरेक खेल ३ अंकको लागि खेल्ने छौँ,' उनले भने ।
ब्रिगेड ७ खेलमा ५ अंक जोडेर १२ औं स्थानमा रहेको छ । ब्रिगेड पनि पुलिसलाई हराएर अंक तालिका सुधार्न चाहन्छ ।
ब्रिगेडका मुख्य प्रशिक्षक सनोज श्रेष्ठ पुलिसविरुद्ध जितकै लागि खेल्ने बताउछन् ।
'पुलिससँगको खेल हाम्रो लागि महत्वपूर्ण खेल हो । पुलिस धेरै राम्रो टिम हो,' उनले भने, 'पुलिससँग हामी जित्नकै लागि खेल्छौं । जित्ने रणनीति छ । लगातार तीन खेल हारेकोले आज जित्नैपर्ने छ ।'