काठमाडौं । अफ्रीका कप अफ नेसन्स फुटबलमा आयोजक क्यामरुनले विजयी सुरुआत गरेको छ ।
आइतबार राति भएको उद्घाटन खेलमा बुरकिना फासोलाई २-१ गोल अन्तरले हराउँदै आयोजकले सुखद सुरुआत गरेको हो ।
ओलेम्बे स्टेडियममा एक गोलको अग्रता उल्टाएर क्यामरुनले जित निकालेको हो ।
क्यामरुनको जितमा दुबै गोल भिन्सेन्ट अबुबाकरले गरे ।
खेलको २४ औं मिनेटमा गुस्ताभो सांगारेले गोल गर्दै बुरकिनालाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ४० औं मिनेटमा अबुबाकरले पेनाल्टीमा गोल गर्दै क्यामरुनलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा अबुबाकरले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै क्यामरुनलाई २-१ को जित दिलाए ।

यस जितसँगै समूह ए को क्यामरुनले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।
बुरकिनाले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।




