काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा रुस्लान थ्री स्टार क्लबले जित निकालेको छ।
शनिबार भएको खेलमा थ्री स्टारले नेपाल आइस हिमालयन शेर्पा क्लबलाई २-० गोल अन्तरले हराएको हो।
थ्री स्टारलाई जित दिलाउन घानेफो अन्सुमाना क्रोमाले एक गोल गरे । थ्री स्टारले एक गोल भने आत्मघाती उपहार पाएको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शेर्पाका डिफेन्डर अमृत श्रेष्ठको आत्मघाती गोलबाट थ्री स्टारले सुरुआती अग्रता बनाएको थियो ।
खेलको ५६ औं मिनेटमा अमृतले आत्मघाती गोल गरेका थिए। थ्री स्टारका ऋतिक कुमार खड्काले अघि बढाएको बल अमितलाई लाग्दै गोलमा परिणत भएको थियो ।
त्यसपछि खेलको इन्जुरी समयको छैटौं मिनेटमा अन्सुमानाले गोल गर्दै थ्री स्टारलाई २-० को जित दिलाए ।
लाकेन लिम्बुको पासमा उनले सहजै गोल गरे । जारी लिगमा दोस्रो खेल खेलिरहेका उनको यो पहिलो गोल हो ।
यस जितसँगै थ्री स्टारले ८ खेलमा १३ अंक जोडेको छ । थ्री स्टार पाँचौं स्थानमा उक्लिएको छ ।
शेर्पाले ८ खेलमा ११ अंक जोडेको छ । शेर्पा छैटौं स्थानमा झरेको छ ।
खेलमा थ्री स्टारका ऋतिक खड्का म्यान अफ दि म्याच चुनिए ।
थ्री स्टारकै निशान खड्का इमर्जिङ प्लेयर चुनिए ।