काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले पुनरागमन जित निकालेको छ ।
शनिबार राति भएको खेलमा डर्टमण्डले पुनरागमन गर्दै फ्रान्कफुर्टमाथि ३-२ गोलको जित निकालेको हो ।
डर्टमण्डले दुई गोलको अग्रता उल्टाएर जित निकालेको हो ।
खेलको १५ औं मिनेटमा राफेल सान्तोस बोरेले गोल गर्दै फ्रान्कफुर्टलाई सुरुआती अग्रता दिलाएका थिए ।
राफेलले २४ औं मिनेटमा व्यक्तिगत दोस्रो गर्दा फ्रान्कफुर्ट २-० ले अघि रह्यो ।

तर, दोस्रो हाफमा डर्टमण्डले उत्कृष्ट पुनरागमन गर्यो ।
खेलको ७१ औं मिनेटमा थोर्गन हाजार्डले गोल गर्दै डर्टमण्डलाई २-१ को स्थितिमा ल्याए ।
८७ औं मिनेटमा जुड बेलिङघमले गोल गरेपछि खेल २-२ गोलको बराबरीमा आयो ।
त्यसपछि खेलको ८९ औं मिनेटमा महमुद दाहुदले गोल गर्दै डर्टमण्डलाई ३-२ को जित दिलाए ।
जितसँगै डर्टमण्डले १८ खेलमा ३७ अंक जोडेको छ ।
डर्टमण्ड दोस्रो स्थानमा रहेको छ ।
फ्रान्कफुर्ट २७ अंक जोडेर सातौं स्थानमा रहेको छ ।