काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिडले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई ४-१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमा र जुनियर भिनिसियसले दुई दुई गोल गरे ।
खेलको ४३ औं मिनेटमा बेन्जिमाले पेनाल्टीबाट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
५२ औं मिनेटमा भिनिसियसले गोल गर्दा रियलको अग्रता दोब्बर बन्यो ।

भिनिसियसले ६१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३-० को अग्रता दिलाए ।
खेलको ७६ औं मिनेटमा भ्यालेन्सियाका गुएडेसले गोल गर्दै खेल ३-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ८८ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४-१ को जित दिलाए ।

जितसँगै रियलले अंक तालिकामा आठ अंकको अग्रता बनाएको छ ।
रियलले २१ खेलमा ४९ अंक जोडेको छ ।
दोस्रो स्थानको सेभियाको ४१ अंक छ ।
भ्यालेन्सिया २८ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
