इलाम । इलाम जिल्ला ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत चौथो चरणको खेलमा देउराली स्पोर्टिङ क्लब र हेल्लो जसबीरे क्लब विजयी भएका छन् ।
शनिबार भएको पहिलो खेलमा हेलिबोथ क्लबमाथि ७–१ गोल अन्तरको जित निकाल्दै देउरालीले महत्वपुर्ण ३ अंक बटुल्यो । देउरालीको जितमा सुमन धमलाले ४ गोल गरे । प्रविन राई, यज्ञराज सुनुवार र कप्तान किरण राईको नाममा १÷१ गोल रहयो । हेलिबोथका पेम्बा गुरुङले सान्तवाना गोल फर्काए ।
खेलको दोश्रो मिनेटमा नै सुमनले देउरालीलाई अग्रता दिलाए । ९ मिनेटमा प्रविनले अग्रता दोब्बर बनाए । १५ औ मिनेटमा हेलिबोथका पेम्बाले गोल गर्दै अग्रता कम पारे । तर आक्रमक खेल देखाएको देउरालीका लागि २४ र ४५ औ मिनेटमा सुमनले गोल गर्दै ह्याट्रिक पुरा गरे । २ मिनेट नवित्दै सुमनले व्यक्तिगत चौथो गोल गरे । ५० औ मिनेटमा यज्ञराज र ५५ औ मिनेटमा कप्तान किरणले गोल गरे ।
२ जित र १ बराबरीसंगै ७ अंकका साथ देउराली दोश्रो स्थानमा छ । जित विहिन बनेको हेलिवोथ अंक तालिकाको सातौ स्थानमा रहँदै रेलिगेसन जोनमा रहेको छ ।
दोश्रो खेलमा हेल्लो जसबीरेले माईभ्याली क्लबमाथि १–० गोल अन्तरको जित निकाल्यो । जसबीरेलाई ३ अंक दिलाउन ३४ औ मिनेटमा केशव मुखियाले निर्णायक गोल गरे । जितसंगै जसबीरेले पहिलो पटक अंक बटुल्यो । पराजयसंगै ७ अंकको साथ माईभ्याली तेश्रो स्थानमा छ । शत प्रतिशत जितका साथ क्लब ओसिस ९ अंकको साथ पहिलो स्थानमा छ।
पहिलो जितका बाबजुद पनि ३ अंकको साथ जसबीरे रेलिगेसन जोनमा रहेको छ । रेडहर्षसंग समान अंक भएपनि गोल अन्तरको आधारमा जसबीरे रेलिगेसन जोनमा परेको हो । अन्तिम खेलमा रेडहर्ष इलाम र त्रिवेणी युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । जारी लिगमा रेडहर्षको तेश्रो बराबरी हो । ४ अंक बटुलेको त्रिवेणी चौथो स्थानमा यथावत छ । ३ अंकको साथ रेडहर्ष पाँचौ स्थानमा छ ।
पाँचौ चरणको खेलमा आइतबार हेलिबोथ र रेहडर्ष भिड्दैछन् । दोश्रो खेलमा क्लब ओसिस र त्रिवेणी तथा रेडहर्ष र जसबीरे भिड्दैछन् । लिग आगामी २७ गतेसम्म संचालन हुनेछ ।