काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज आइतबार एक खेल हुँदैछ । लिगको आठौं चरण अन्तर्गत आइतबार एक मात्र खेल हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा रुस्लान थ्री स्टार र नेपाल आइस हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । थ्री स्टार र शेर्पाबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।
थ्री स्टार ७ खेलमा १० अंक जोडेर छैटौं स्थानमा रहेको छ । थ्री स्टार शेर्पालाई हराएर शीर्ष पाँचमा उक्लन चाहन्छ ।
थ्री स्टारका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले शेर्पाविरुद्ध ३ अंककै लागि खेल्ने बताए ।
'हामी ३ अंकको लागि खेल्छौं त्यहि अनुसार तयारी छ । यस अघि हामीले जित्यौं त्यसैले खेलाडीको मोरल हाइ छ । हामीले एउटा स्ट्राइकर थप गरेपछि खेल राम्रो भएको छ,' उनले भने, 'विपक्षी टिम राम्रो छ । उनीहरुले लगातार जितिरहेको छ गोल गरिरहेको छ । हाम्रो पनि राम्रो छ । राम्रो खेल हुन्छ जस्तो लागेको छ ।'
शेर्पा ७ खेलमा ११ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । थ्री स्टारलाई हराएर तेस्रो स्थानको संकटा र चौंथो स्थानमा रहेको आर्मीसँग अंक बराबरी गर्न चाहन्छ ।
पछिलो खेलमा शेर्पा निकै लयमा समेत देखिएको छ । तर, थ्री स्टारविरुद्ध शेर्पालाई सहज भने छैन ।