काठमाडौं । त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शनिबार साँघुरो जित निकाल्यो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आर्मीले न्युरोड टिम एनआरटीलाई १-० गोल अन्तरले हराएको हो ।
आर्मीलाई जित दिलाउन दिनेश हेन्जनले निर्णायक गोल गरे ।
जितपछि आर्मीका मुख्य प्रशिक्षक नविन न्यौपाने खुसी देखिए ।
'आजको खेल हामीलाई अगाडी बढ्न महत्त्वपूर्ण थियो । हुन त सबै खेल त्यतिनै महत्वपूर्ण छ । तर, हामीले जित्यौ । खेलाडीलाई दिएको जिम्मेवारी निभाएका छन्,' उनले भने, 'स्कोरमा समस्या भइरहेको छ । गोल नभएकै कारण अग्रता जोगाउन पनि सकिरहेका छैनौँ । यस्तो अवस्थामा १-० ले जित्दा खुसी छु।'
एनआरटी मुख्य प्रशिक्षक राजुकाजी शाक्य भने निराश देखिए । जितका लागि खेलेको भएपनि सफल नभएको उनले बताए ।
'मैले खेलाउन नसकेको होकी खेलाडीले खेल्न नसकेको ? आजको खेल देखेर म खुसी छौँ,' उनले भने, 'यस अघिका खेल हेर्ने हो भने आजको प्रदर्शन पटक्कै भएन । आर्मीलाई जित्नकै लागि आएका हौँ । तर आज हाम्रो एउटा पनि राम्रो सर्ट छैन ।'