नारायण क्षेत्री
पोखरा । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले शानदार जित निकालेको छ ।
शनिबार भएको खेलमा मनाङले च्यासल युथ क्लबलाई ५-० गोल अन्तरले हराएको हो ।
मनाङलाई जित दिलाउन आफिज ओलावालेले ह्याट्रिक गोल गरे । यस्तै एडिलाजा सोमिडे र दिनेश राजवंशीले एक एक गोल गरे ।
पोखरा रंगशालामा ह्याट्रिक जित निकाल्ने क्रममा मनाङले पहिलो हाफमै दुई गोल गरेको थियो ।
तेस्रो मिनेटमा सोमिडेले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ४३ औं मिनेटमा ओलावालेले गोल गरेपछि मनाङ पहिलो हाफमा २-० ले अघि रह्यो ।
खेलको ८६ औं मिनेटमा दिनेशले गोल गर्दै मनाङलाई ३-० को अग्रता दिलाए ।
खेलको इन्जुरी समयको तेस्रो मिनेटमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई ४-० को अग्रता दिलाए ।
त्यसको एक मिनेटपछि नै ओलावालेले ह्याट्रिक पूरा गर्दा मनाङ ५-० ले विजयी भयो।
पोखरा रंगशालालाई होम मैदान बनाएको मनाङले यस सिजन तीन खेल खेलेको हो । जसमा मनाङ तीनै खेलमा विजयी भयो ।
मनाङले यस अघि नेपाल पुलिस र ब्रिगेड ब्वाइजलाई पोखरा रंगशालामा हराएको थियो ।
जितसँगै मनाङले ८ खेलमा १९ अंक जोडेको छ । मनाङ दोस्रो स्थानमा यथावत रहेको छ ।
च्यासलले ८ खेलमा ५ अंक जोडेको छ । च्यासल लिगको १३ औं स्थानमा रहेको छ ।
मनाङका ओलावाले खेलको म्यान अफ दि म्याच चुनिए ।
इमर्जिङ प्लेयर च्यासलका आशिष राई चुनिए ।