काठमाडौं । प्रशिक्षक राजु शाक्यले अहिले एनआरटीको जिम्मेवारी सम्हालिरहेका छन् । त्यस अगाडि उनले लामै समय आर्मी टिम पनि सम्हाले ।
सहिद स्मारक लिग ए डिभिजन ०७८ मा यिनै दुई टिम भिड्दै छन्, उनको वर्तमान टिम, अनि उनको पुरानो टिम । संयोगले दुवैमा बराबरीको स्थिति रहेको छ ।
वर्ष ०७६ मा एनआरटीले आठौं चरणमा आर्मीको सामना गर्दा त्यो खेल गोलरहित बराबरीमा टुंगेको थियो ।
आर्मीले दुई वर्ष अगाडि लिग उपाधिको नजिक पुगेर जित्न नसक्नुको एउटा कारण यो बराबरीमा पनि थियो ।
वर्ष ०७५ मा पनि यी दुई टिमले २–२ को बराबरी खेलेका थिए । वर्ष ०७० मा यी दुई टिम भिडेनन् ।
वर्ष ०६९ मा भने एनआरटीले आर्मीलाई १–० ले हराएको थियो भने वर्ष ०६८ मा आर्मी ४–१ ले विजयी रह्यो । त्यस अर्थमा लिगका पछिल्ला चार खेलमध्ये दुई बराबरीमा टुंगेको छ ।
यस्तै दुवैले एक एक जित निकालेका छन् । अहिले भने एनआरटी १० अंकमा सातौं स्थानमा छ, आर्मी ११ अंकमा चौथो स्थानमा छ ।