काठमाडौं । मनाङ मर्स्याङ्दीले शनिबार पोखरामा च्यासलको सामना गर्दैछ र सहिद स्मारक लिग ए डिभिजन ०७८ मा उसले पोखरा रंगशालालाई तेस्रो पल्ट आफ्नो घरेलु मैदानका रूपमा प्रयोग गर्दैछ ।
यसअघि पोखरा रंगशालामा भएका दुवै खेल जितेको मनाङले त्यति बेला पुलिस र ब्रिगेड ब्वाइजलाई हराएको थियो।
के मनाङले अब पोखरामा जितको ह्याट्रिक बनाउन सक्ने छ त ? यस्तो गर्न सके, यो च्यासलमाथि मनाङले लिएको बदला पनि हुनेछ, किनभने वर्ष ०७५ मा च्यासलले मनाङलाई २–० ले स्तब्ध पारेको थियो । यो मनाङमाथि च्यासलको पहिलो जित थियो । त्यसमा तइगा नाकामुरा र सन्तोष साहुखलले गोल गरेका थिए ।
अहिलेसम्म यी दुई टिमबीच लिगमा जम्मा दुई खेल मात्र भएका छन् । वर्ष ०७५ मा च्यासलले डेब्यु गर्दाको संस्करणमा यो टिम मनाङसँग ३–१ ले पराजित रहेको थियो ।
अहिले तत्काल मनाङ सात खेलबाट १६ अंक जोडेर दोस्रो स्थानमा छ । च्यासल भने सात खेलबाट पाँच अंक जोडेर १३ औं स्थानमा छ ।