काठमाडौं । सहिद स्मारक लिग ए डिभिजनमा मछिन्द्रले अहिलेसम्म जति पल्ट खेलेको छ, त्यसमा उसले प्रस्तुत गरेको टिम फरक फरक खाले छ ।
वर्ष ०७६ मा उसले लिग जित्दाको टिम गज्जब थियो, त्यसैले त्यो वर्ष मछिन्द्रले फ्रेन्ड्सलाई सजिलै ३–० ले हराएको थियो ।
तेस्रो चरणको त्यस खेलमा मछिन्द्रका लागि पिटर सेगुन, सामिडे एडेलाजा र रेजिन सुब्बाले गोल गरेका थिए ।
यसपल्ट आठौं चरणको खेलमा यिनै दुई टिम शनिबार दशरथ रंगशालामा भिड्दै छन् । यो भनेको वर्तमान मछिन्द्र टिमको कुरा भयो ।
अहिले मछिन्द्र सात खेलबाट १७ अंक जोडेर शीर्ष स्थानमा छ भने फ्रेन्ड्स समान खेलबाट तीन अंकमै सीमित रहेर पुछारमा छ ।
त्यसैले यो ‘टप’ र ‘बटम’ टिमबीचको खेल हो ।
लिगका वर्ष ०७५ का संस्करणलाई आधार मान्ने हो भने त्यसमा मछिन्द्रमाथि फ्रेन्ड्सको बलियो इतिहास छ । त्यो भनेको पुरानो मछिन्द्रको कुरा भयो ।
फ्रेन्ड्सले वर्ष ०७५ मा ३–०, ०७० मा १–०, वर्ष ०६९ मा ५–० र वर्ष ०६८ मा २–१ ले पराजित गरेको थियो ।
त्यसैले यसपल्ट फ्रेन्ड्सलाई इतिहासबाट प्रेरित हुने एउटा राम्रो बहाना छ ।