इलाम । नेपाल सुपर लिगको फ्रेन्चाइज क्लब विराटनगर सिटी एफसी फुटबल प्रर्वद्धनलाई प्रदेश नं १ का विभिन्न जिल्ला दौडाहमा छ ।
कार्यकारी अधिकृत सुभाषिश कोइरालाको नेतृत्वमा १४ वटै जिल्लाका ग्रासरुट र फुटबल प्रर्वद्धनका लागि नेपाल सुपर लिगको क्लब बिराटनगर दौडाहमा लागेको हो ।
क्लबले शुक्रबार इलामको सूर्योदय नगरपालिका–९ मा रहेको मिलियन फ्रेन्डस क्लबसँग जोडिएका बालबालिकाहरुलाई जर्सी र खेलकुद सामाग्रीहरु प्रदान गरेको छ ।
क्लबको मैदानमा आयोजित कार्यक्रममा आफ्नो नाम अंकित जर्सी लगाउन पाउँदा बालबालिकाहरु उत्साहित देखिन्थे । राष्ट्रिय स्तरको क्लबका पदाधिकारी गाउँटोलमा आएर ग्रासरुटका खेलाडीहरुसंगको अन्तरक्रियाले फुटबलमा लाग्न प्रेरणा मिलेको पुर्व फुटबलर सोनाम योल्मोले बताए ।
हालसम्म विभिन्न ८ जिल्लाका क्लब र फुटबलसँग जोडिएका ग्रासरुटका बालबालिहरुलाई भेटेर जर्सी उपहार तथा फुटबल सम्बन्धी संस्थाहरुसंग अन्तरक्रिया गरेको कोइरालाले बताए । उनका अनुसार ग्रासरुट क्षेत्रमा लगानी अभावका कारण फुटबल प्रर्वद्धन हुन सकेको छैन् ।
स्थानीय स्तरका क्लबहरुसँग सहकार्य गरेर खेलाडी पहिचान समेत गरिने उनले बताए । प्रदेशका सवै जिल्लाका पुगेर कम्तीमा एउटा क्षेत्रका बालबालिकाहरुसँग फुटबल सम्बन्धी प्रर्वद्धनका कार्यक्रम गरिने उनले बताए । क्लबले फुटबल, जर्सी र अन्य सामाग्रीहरु समेत वितरण गर्दै आएको छ ।