इलाम । इलाम जिल्ला ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत तेश्रो चरणको खेलमा त्रिवेणी युवा क्लब, माईभ्याली फुटबल क्लब र क्लब ओसिस विजयी भएका छन् ।
प्रतियोगिता अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा हेल्लो जसबीरेमाथि ५–० गोल अन्तरको जित निकाल्दै त्रिवेणीले महत्वपुर्ण ३ अंक बटुल्यो ।
त्रिवेणीको जितमा हेमसागर राई र प्रमोद घिमिरले समान २/२ गोल गरे । पर्शन लिम्बुले थप १ गोल गरे । खेलको छैटौ मिनेटमा नै हेमसागरले सुरुवाती अग्रता दिलाए । ३४ औ मिनेटमा प्रमोदले अग्रता दोब्बर बनाए । पहिलो हाफमा २–० को अग्रता बनाएको त्रिवेणीले दोश्रो हाफको सुरुवाती ११ मिनेटमा थप ३ गोल गर्न सफल रहयो ।
५१ औ मिनेटमा प्रमोदले व्यक्तिगत दोश्रो गोल गरे । एक मिनेट नवित्दै पर्शनले गोल गरे । ५६ औ मिनेटमा हेमसागरले व्यक्तिग दोश्रो गोल गरेपछि त्रिवेणी ५–० गोल अन्तरको स्पष्ट जीत निकाल्न सफल रहयो । जितसंगै ३ अंक बटुलेको त्रिवेणी चौथो स्थानमा उक्लन सफल रहयो । पराजित बनेको जसबीरेले अंक बिहिन हुँदै गोल अन्तरको आधारमा रेलिगेसन जोनमा रहेको छ ।
त्यसैगरी दोश्रो खेलमा माईभ्याली फुटबल क्लबले हेलिबोथ क्लबलाई १–० ले पराजित गर्न सफल रहयो । माईभ्यालीको जीतमा सनम राईले निर्णायक गोल गरे । जितसंगै माईभ्याली ७ अंकको साथ दोश्रो स्थानमा रहेको छ । जितविहिन हेलिबोथ रेलिगेसन जोनमा रहेको छ ।
अन्तिम खेलमा क्लब ओसिसले देउराली स्पोर्टिङ क्लबलाई १–० ले हराउँदै शीर्ष स्थानमा कायमै राखेको छ । खेलको २६ औ मिनेटमा सुरज दाहालले निर्णायक गोल गरे । ९ अंक बटुलेको ओसिस शीर्ष स्थानमा रहँदा १ जित र १ बराबरी निकालेको देउराली ४ अंकको साथ तेश्रो स्थानमा रहेको छ । लिगको पाँचौ स्थानमा २ अंकको साथ रेडहर्ष फुटबल क्लब रहेको छ ।
चौथो चरणको खेलमा शनिबार देउराली क्लब र हेलिबोथ भिडदैछन् । दोश्रो खेलमा माईभ्याली र हेल्लो जसबीरे तथा अन्तिम खेलमा रेडहर्ष र त्रिवेणी युथ क्लब प्रतिस्पर्धा गर्नेछन् ।