नारायण क्षेत्री
पोखरा । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा शनिबार मनाङ मर्स्याङ्दी क्लब र च्यासल युथ क्लबबिच प्रतिस्पर्धा हुँदैछ ।
पोखरा रंगशालालाई होम ग्राउण्डको रुपमा रोजेको मनाङले आठौं चरणको खेल अन्तर्गत च्यासल युथ क्लबसंग खेल्न लागेको हो ।
शुक्रबार पोखरामा आयोजित प्रि म्याच कन्फरेन्समा बोल्दै मनाङका विदेशी प्रशिक्षक फुजा तोपेले एएफसी कपका लागि छनोट हुन नसकेपनि खेलाडीहरुमा आत्मविश्वास नघटेको बताए ।
गत सिजनको खेलमा पनि च्यासलविरुद्ध जित निकालेको भन्दै यसपटकको खेलमा पनि आफूहरुको सोही रणनीति रहेको प्रशिक्षक फुजाले बताए । यसअघिका पाँचौं र सातौं चरणको खेलमा मनाङले पुलिस र बिग्रड ब्वाइज क्लबलाई हराएको थियो ।
च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले काठमाडौं बाहिर पहिलो पटक लिग खेल्न पाउँदा खुशी लागेको बताए । उनले मनाङ बलियो टिम भएकाले रेलिगेसनको खतराबाट जोगिन खेलाडीहरुले सक्दो मेहनत गर्ने र सोही अनुसार आफूहरुले तयारी गरेको बताए । खेल पोखरा रंगशालामा दिउँसो २ बजेपछि हुने छ ।