काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लबले शुक्रबार सातदोबाटो युथ क्लबसँग बराबरी खेल्दै अंक बाडेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटा र सातदोबाटोले १-१ गोलको बराबरी खेलेको हो ।
सातदोबाटोसँग बराबरी खेलेपछि संकटाका मुख्य प्रशिक्षक बिष्णु गुरुङले योजना सफल नभएको बताए ।
'हामी जुन योजनामा आएका थियौ त्यो योजना सफल पार्न सकेनौ । गोलरक्षक र डिफेन्स शतर्क हुन जरुरी छ । उनीहरु शतर्क भएको भए हामी पहिलो गोल खाने थिएनौ,' उनले भने ।
प्रशिक्षक गुरुङले चोटको कारण खेलाडीले खुलेर खेल्न नसकेको बताए ।
'चोटका कारण खेलाडीमा शारीरिक र मानसिक तनाब थियो । हामीले खुलेर खेल्न सकेनौ । तर पनि खेले । दुबै टोलीले राम्रो खेले,' उनले थपे ।
सातदोबाटोका सहायक प्रशिक्षक सुरज महर्जनले जित्नको लागि खेलको तर एक अंक पाएको बताए ।
'दुबै टोलिले राम्रो खेल्यो । हामीले पनि केही अवसर पाएका थियौ । तर थप गोल हुन सकेन । जित्नकै लागि खेलेका थियौ । हाम्रा लागि एक अंक पनि राम्रै हो,' उनले भने ।