नयाँ सनसनी : जिदान पीएसजी जाने

काठमाडौं । फ्रान्सबाट एउटा नयाँ सनसनीपूर्ण समाचार आएको छ र त्यो हो, अहिले निकै आराम फर्माइरहेका जिनेदिन जिदानले अर्को सिजन पेरिस सेन्ट जर्मेन (पीएसजी) को प्रशिक्षण सम्हाल्ने तय जस्तै भएको छ ।
यसबारे अहिलेसम्म आधिकारिक घोषणा केही पनि भएको छैन् । तर क्लबसँग नजिकका पत्रकारले यस्तै दाबी गरेका छन् ।
ती पत्रकारका अनुसार पीएसजी जिदानलाई फकाउन यसपल्ट सफल भएको छ । अहिले तत्कालनै जिदानले पीएसजी हेर्ने पनि होइन् । उनले क्लब जिम्मा लिने अर्को सिजन नै हो ।
त्यसको अर्थ अहिलेका प्रशिक्षक मउरिसो पोचेटिनोले नै यो सिजन क्लबलाई अगाडि बढाउने छन् । यसबारे पहिलो पल्ट समाचार दिने पत्रकार हुन्, रिओलो ।
उनको यो समाचार किन पनि विश्वसनीय छ भने उनको सूत्र क्लबमा निकै बलियो छ र उनले नै पहिलो पल्ट लियोनल मेसी पीएसजी आउने भयो भनेर समाचार बनाएका थिए ।
उनले अहिलेसम्म पीएसजीलाई जति पनि दाबी गरेका छन्, ती मिलेकै छन् । अबको समाचार पनि सत्य हुने हो भने पीएसजीमा प्रशिक्षक हुनेछन्, जिदान, अनि खेलाडी मेसी र नेयमार ।
अनि केयलिन एमबापे ? सायद जिदान आउने हो भने उनी पनि बस्न तयार हुन सक्नेछन् । हुन सक्छ, एमबापेलाई क्लबमै राख्न पनि एउटा अचुक अस्त्रका रूपमा पीएसजीले जिदान ल्याउन लागेको हुन सक्छ । त्यसको अर्थ एमबापे रियल म्याड्रिड जाने छैनन् ।
अनि रियल छाडेयता जिदानले यति बेला केही गरिरहेका पनि छैनन् ।
–मार्काको सहयोगमा ।