काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलानले रोमालाई हराएको छ ।
बिहीबार राति भएको खेलमा मिलानले ९ खेलाडीमा सिमित रोमालाई ३-१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा ओलिभर जिराउडले आठौं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
१७ औं मिनेटमा जुनियर मेस्सीआसले गोल गरेपछि मिलानको अग्रता २-० को बन्यो ।
खेलको ४० औं मिनेटमा टामी अब्राहीमले गोल गर्दै रोमालाई २-१ को स्थितिमा ल्याए ।

७४ औं मिनेटमा रिक कार्सड्रपले रातो कार्ड पाएपछि रोमा १० खेलाडीमा समेटियो ।
राफेल लाओले ८२ औं मिनेटमा गोल गर्दै मिलानलाई ३-१ को अग्रता दिलाए ।
खेलको इन्जुरी समयको तेस्रो मिनेटमा मान्सिनीले रातो कार्ड पाएपछि रोमा ९ खेलाडीमा सिमित भयो ।
त्यसको एक मिनेटपछि पाएको पेनाल्टीमा मिलानका ज्लाटन इब्राहिमोविच गोल गर्न चुके । उनको प्रहार रोमाका गोलकिपर रुइले बचाए ।
यस जितसँगै मिलानले २० खेलमा ४५ अंक जोडेको छ ।
मिलान दोस्रो स्थानमा रहेको छ ।
रोमा ३२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।